काठमाडौँ। शुक्रबार विहान पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको मर्स्याङ्दी जलविद्युत परियोजनाको टेलरेस सुरुङ नजिकै सडक भासिँदा तीन वटा सवारी साधन खसे। कम्तिमा २ जनाको ज्यान गयो।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार नदीले सडक तलको भाग काट्दै गएर कोप्चेरो बनाएपछि भाँसिएको देखिएको छ। उनका अनुसार सडक मुनिको भाग नदीले भित्रीसम्म खोक्रो बनाइसकेको पत्तो थिएन। ‘२०३१ सालमा बनेको सडकको कडा चट्टानसहितको यो भागमा ५० वर्षसम्म समस्या देखिएको थिएन,’ उनले भने, ‘आज बिहानको घटनाले हामीलाई मर्माहत बनायो।’
पछिल्ला वर्षहरुमा पृथ्वी राजमार्गमा यस्ता घटना बढ्दै गएका छन्। ६ साउन २०७७ मा पनि तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा यसैगरी सडक भासिएको थियो । मुग्लिन–नागढुंगा सडक खण्डमा त वर्षायाम लागेपछि यस्तो समस्या बारम्बार आइरहन्छ।
निर्माणपछि पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा मात्रै भएको थियो। त्यतिबेला पनि राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भएन। न त नदी कटानमा परेका भागबारे अध्ययन र मर्मत नै भयो।