काठमाडौँ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन प्रभावकारी र व्यवहारिक हुन नसकेको निष्कर्ष निकालेको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको ठहर गरेको छ।
स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै गठबन्धन प्रभावकारी नभएको बताए।
‘तालमेल बलियो बनेको भए र पार्टी भित्रको समस्या समाधान गर्न सकेको भए ४५० स्थानमा कांग्रेसले जित्ने थियो’ उनले भने। गठबन्धनमा रहेका दलहरुले निर्वाचन पश्चात प्राप्त मत परिणाममा असन्तुष्टि जनाएकाले संघ र प्रदेशमा तालमेलको हुनेमा आशंका रहेको पौडेलको भनाइ छ।
तालमेल प्रभावकारी हुन नसकेका स्थान र अन्तर्घात कहाँ कहाँ भएको भन्ने विषयमा बिहीबार सार्वजनिक प्रतिवेदनमा खुलाइएको छैन। यो विषय समेटेर उपसभापति पूर्णबहादुर खड्कालाई छुट्टै प्रतिवदेन बुझाइएको छ। अन्तर्घातका कारण र आन्तरिक समस्या समाधान गर्ने विधि समेत उल्लेख गरी मूल प्रतिवेदन खड्कालाई बुझाइएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए।
७५३ पालिकामध्ये सत्तारुढ दलहरुबीच ३२४ वटामा तालमेल भएको कांग्रेसले जनाएको छ। यीमध्ये २०९ वटामा कांग्रेसले प्रमुख पदको उम्मेदवार पाएको थियो, जसमध्ये १२८ वटा जितेको छ। तालमेल भएका स्थानीय तहमध्ये प्रमुखमा ६१ प्रतिशत र उपप्रमुखमा ७४ प्रतिशत निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अन्य दलसँगको सहकार्य गर्नुको कारणबारे मतदातालाई बुझाउन आवश्यक देखिएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ। पार्टीको राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामा प्रभावकारी रुपमा पुग्न नसकेको उपसमितिले ठहर गरेको छ।
टिकट वितरण क्रममा विधानको पालना नगरिएको पनि उपसमितिले प्रतिवेदनमा उल्लेख छ। टिकट वितरण गर्दा स्वच्छ छवि, उर्जाशीलता, लोकप्रिय व्यक्ति र आन्तरिक सर्वेक्षण जस्ता विजयलाई मानक बनाउन उपसमितिले सुझाव दिएको छ।
कांग्रेसले देशभरका १० जिल्लामा भने चुनावी परिणाम निराशाजनक रहेको निश्कर्ष निकालेको छ। दार्चुला र पूर्वी रुकुममा कांग्रेसले कुनै पनि पालिकामा जित निकाल्न सकेन। त्यस्तै मुस्ताङ, डोल्पा, सिरहा, महोत्तरी, गोरखा, रोल्पा, कालीकोट र कैलालीमा तालमेल प्रभावकारी नहुदा र आन्तरिक कारणले पराजय भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसले डोटी, पाँचथर, बाँके, पर्वत, डडेलधुरा, अछाम, ललितपुर, काठमाडौं, सोलुखुम्बु र ओखलढुङ्गामा भने सन्तोषजनक नतिजा ल्याएको उल्लेख गरेको छ। कांग्रेसले तालमेल नगरी प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिएका ४२३ पालिकामध्ये २१० वटामामा जित निकालेको छ। प्रमुख र अध्यक्ष गरी ४७.५ प्रतिशतले जित निकालेको कांग्रेसले जनाएको छ।
अघिल्लो पटक जितेका कांग्रेसका १४० जना यसपटक दोहोरिएका छन्। २०७४ मा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले यसपटक गुमाएको छ। अघिल्लोपटक कांग्रेस पराजित भएको १८९ पालिकामा यसपटक कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यसपटकको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा २ हजार ६६५ जना निर्वाचित भएका छन्।
हेर्नुस् प्रतिवेदन