दोलखा। जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन हुने भएको छ।
यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ। एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति भएको काँग्रेस जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए। चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ।
काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ। ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ। काँग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो।
बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये काँग्रेसको १२, एमालेको सात, नेकपा (माओवादी केन्द्र) को चार र एकीकृत समाजवादीको एक मत छ। जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था छ।
यस्तै जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल हुने भएको छ। ती दुई दलसँग ११ मत छ। प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिने भएका छन्। समाजवादीले भने उपप्रमुखमा को उठाउने भन्ने अझै टुङ्गो हुनसकेको छैन। स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।