काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए। उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताए।
‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ। यदि कुनै विषय हो भने कमिटीमा आउँछ। छलफल हुन्छ। कमिटीले निर्णय गर्छ। बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु। पढ्छु। मलाई पनि अचम्म लागेको छ।’ उनले भने,‘केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो। बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो। त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी।’
यस्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपाएमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए। पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ।
कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए। उनले भने, ‘यतिबेला नेकपा (एमाले) एकतावद्ध भएर अगाडी जानुपर्छ। हामी आवेग, उत्तेजनामा होइन कोहीपनि आउनु हुदैनँ। र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ।’ उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए।