काठमाडौँ। कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन्। साथै उक्त भेटमा आफू माओवादी केन्द्रमै रहेको बताएका छन्।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए। उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए।
केसी बिहिबार बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन्। भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका थिए।
उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि भएका छन्।