काठमाडौँ। संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो।
सांसदहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन्। कतिपय नेताहरू फागुनमा मात्र चुनाव गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन्।
स्थानीय तह चुनावमा टिकट वितरणमा अन्याय भएको भन्दै स्थानीय नेताहरू आक्रोशित भएकाले तत्कालै चुनावमा गए अन्तर्घात हुने भन्दै कांग्रेस नेताहरू सजग छन्। ‘कुलिङ पिरियड’ राखेर फागुनमा चुनावमा जानु उपयुक्त हुने उनीहरूको सुझाव छ। कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्र चुनाव गराउन इच्छुक भए पनि औपचारिक बैठकमा कसैले त्यस्तो प्रस्ताव नराखेको बताए। ‘गठबन्धन कात्तिक वा मंसिरमै चुनाव गराउन तयार छ, तर यसमा प्रधानमन्त्रीकै भूमिका प्रमुख हुन्छ,’ सोमबार बालुवाटारमा बसेको बैठकको प्रसंग उल्लेख गर्दै नेता पौडेलले भने।
वर्तमान गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्रै छलफल सुरु भएको सूचना पाएकाले प्रधानमन्त्री देउवा छिटो चुनावको पक्षमा देखिएको कांग्रेसकै नेताहरूको भनाइ छ। ‘गठबन्धन भत्काउन पनि छलफल भइरहेको सूचना छ। एमाले र माओवादीकै कतिपय नेताहरू वाम गठबन्धन बनाउन लागेका छन्। कम्तीमा एमाले र नेकपा ‘एस’ मिलाउने प्रयास भइरहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्री चाडपर्वलगत्तै चुनाव गराउने पक्षमा हुनुहुन्छ ।’
कात्तिकरमंसिरमा चुनाव गराउने कि फागुनमा भन्ने साँचो प्रधानमन्त्रीभन्दा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको बताउँछन् कांग्रेस नेता मीनेन्द्र रिजाल। ‘चुनावको मिति तोक्ने मात्रै होइन, गठबन्धनलाई कता लैजाने भनेर निर्णय गर्ने भूमिका अहिले दाहालसँग छ,’ उनले थपे।
माओवादी नेता नारायणकाजी श्रेष्ठले संघीय चुनावको मितिबारे साझेदारबीच अनौपचारिक छलफल भएको बताए। ‘स्थानीय तहको चुनावको समीक्षा गर्दै जाँदा अबको चुनाव पनि पाँच दल मिलेर जानुपर्छ। चार महिनाअघि नै मिति घोषणा गर्नुपर्छ भन्ने सन्दर्भमा छलफल भएको हो। कात्तिक अन्तिम वा मंसिर पहिलो–दोस्रो साता चुनाव गरौं भन्ने कुरा भएको छ। ठ्याक्कै मितिको विषयमा अब केही दिनमा छलफल हुन्छ,’ श्रेष्ठले भने।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चुनावको मितिबारे प्रारम्भिक छलफल भएको बताए। ‘संसद्को कार्यकाल सकिएको मितिमा नै चुनाव गर्ने हो भने कात्तिक अन्तिमतिर गर्नुपर्यो। मंसिर उता जाँदा हिमाली भेगतिर गाह्रो हुन्छ भन्ने कुरा भएको छ। यद्यपि यो प्रारम्भिक छलफल हो,’ खनालले भने।
स्थानीय तह चुनाव परिणामबाट असन्तुष्ट एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने अहिले संसदीय चुनावको मिति तोक्ने विषयमा त्यति उत्साहित छैनन्। सोमबार बालुवाटारमा बसेको बैठकमा पनि दुवै दलका नेताले असन्तुष्टि पोखेका थिए। एसका नेताहरूले खासगरी इटहरी र बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवारले ठूलो मतान्तरले जित्दा पनि उपप्रमुखमा आफ्ना उम्मेदवारले हारेको विषय उठाएका थिए।
त्यसैगरी जसपाले जनकपुर उपमहानगरमा प्रमुख आफ्ना उम्मेदवारको सट्टा कांग्रेसले विद्रोही उम्मेदवार जिताएको र विराटनगरको उपप्रमुखमा आफ्ना उम्मेदवारलाई हराएको प्रसंग उठाएका थिए।
त्यस्तै बैठकमा सहभागी माओवादी नेता श्रेष्ठले पनि मुलुकलाई भूराजनीतिक जटिलतामा धकेल्ने काममा सरकार उद्यत रहेको भन्दै गठबन्धनलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उब्जेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ‘दुई छिमकी चीन, भारत र शक्ति राष्ट्र अमेरिकासँग सन्तुलित परराष्ट्र नीति कायम राख्न सरकार असफल भएको छ । सरकार नै अमेरिका र भारततिर ढल्किँदा नेपाल भूराजनीतिक जटिलतामा फस्ने डर बढेकाले गठबन्धनलाई नीतिगत रूपमै निरन्तरता दिन अप्ठ्यारो पर्न सक्छ,’ स्रोतका अनुसार बैठकमा श्रेष्ठको भनाइ थियो।
प्रधानमन्त्री देउवा भने सहयोगी तीन दलका नेताहरूलाई आश्वस्त पार्ने प्रयासमा थिए। ‘परराष्ट्र नीतिको समीक्षा गर्न परराष्ट्रमन्त्रीलाई समेत सहभागी गराएर छुट्टै बैठक राख्छु, त्यस्तै गठबन्धनका उम्मेदवारविरुद्ध गतिविधि गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गरिएको र अहिले देखिएका कमजोरी हटाएर संघ र प्रदेशको चुनावमा जाने भनेर प्रधानमन्त्रीले आश्वस्त पार्ने कोसिस गर्नुभयो,’ गठबन्धनमा सहभागी एक नेताले भने।
कांग्रेस नेता पौडेलले पनि सत्ता घटक दलहरूको अविश्वास र आशंका मेटाउने काम प्रधानमन्त्रीबाट भएको भन्दै यही गठबन्धनले आगामी संघ र प्रदेशसम्मै निरन्तरता पाउने विश्वास प्रकट गरे । ‘लोकतान्त्रिक प्रक्रियामा हामी सबै जोडिएका छौं । त्यसैले अब कांग्रेस र कम्युनिस्ट भनेर विभेदको चर्को राजनीति गर्नु व्यर्थ छ । राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी एकै ठाउँमा रहनुपर्छ,’ उनले भने।
माओवादी नेता वर्षमान पुन मंसिरमा कि फागुनमा भन्ने चर्चा भइरहे पनि कुन मितिमा चुनाव गराउने भन्ने निर्णय हुन समय लाग्ने बताउँछन् । ‘चुनाव भएको मितिले पाँच वर्षको कार्यकाल मंसिरमा नै पुग्ने हँुदा त्यतिबेला नै चुनाव गर्न उपयुक्त हुन्छ भन्ने मत छ,’ पुनको भनाइ छ, ‘गहिरो छलफल हुन बाँकी छ ।’
सोमबारको बैठकमा माओवादी अध्यक्ष दाहालले कात्तिकमै पनि चुनाव गर्न सकिने धारणा राखेका थिए । ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा चुनाव भएकै मितिमा कार्यकाल सकिन्छ, त्यसैले कात्तिक अन्तिम वा मंसिर सुरुमा चुनाव गर्नुपर्छ भन्ने कुरा राख्नुभयो । त्यसमा कसैको पनि विमति थिएन,’ बैठकमा सहभागी एक नेताले भने। ती नेताका अनुसार संसद्मा पेस भएको बजेटलगायत महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र त्यसपछि मुलुकलाई चुनावतिर लैजाने तयारी छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।