सत्ता गठबन्धन भत्किन सक्ने तीन कारण



काठमाडौँ। सत्ता गठबन्धन टुट्न सक्ने सम्भावना बढेर गएको छ। त्यसको संकेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।

प्रचण्डले राजधानीमा पार्टीका नवनिर्वाचित स्थानीय निकायका जनप्रतिनिधिलाई सम्बोधन गर्दै देशलाई दिशा दिनसक्ने शक्ति बनेको टिप्पणी गरे । उनले काँग्रेसलाई दम्भ नदेखाउन भन्दै देशलाई जता भन्यो उतै लान सक्ने शक्ति आर्जन भएको बताए।

संसदको चुनावमा सत्ता गठबन्धनभित्र प्रत्यक्षतर्फ सिट बाँडफाँडमा विवाद चलेको खुल्दै गर्दा प्रचण्डको भनाई सार्वजनिक भएको हो । गठबन्धनमा काँग्रेस बाहेकका दलले कम्तिमा आधा सिट मागेका छन् । यसमा काँग्रेस नमानेको बुझिएको छ । प्रचण्डले काँग्रेसविरुद्ध पार्टीको कार्यक्रममा आक्रोश पोखेका हुन् ।

गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादी पार्टी पनि काँग्रेससँग असन्तुष्ट छ । निर्वाचन परिणामपछि माधवकुमार नेपालले असन्तुष्टि पोखिसकेका छन् । उनले आफूहरुलाई तालमेलमा कतिपय पालिकामा बाहिर राखिएको देखि धोका भएको विषय पनि गरिरहेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादव तालमेलका बाबजुद विराटनगरको उपमेयरमा पराजित भएका छन् । जसपाले २०७४ को स्थानीय चुनावभन्दा कम पालिका जितेको छ । यादव पनि असन्तुष्ट छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन् ।

कम्युनिस्ट पार्टीहरुभित्र एउटा समूह नै बनेर एकीकरण या तालमेलमध्ये एक विकल्प निर्माण गर्न सक्रिय छ । विशेषगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो र तेस्रो तहका नेताहरु यसमा सक्रिय छन् । उनीहरुले एकता वा तालमेलका लागि पार्टी नेतृत्वमाथि दबाब बढाइरहेका छन् ।

गठबन्धनविरुद्ध बाह्य शक्तिले पनि सक्रियता बढाइरहेको बुझिएको छ । कम्युनिस्ट एकतामा चीन विगतमा खुलेरै लागेको थियो । फेरि चीनको सक्रियता बढेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकी गतिविधि बढेकाले चीन झस्किएको छ । त्यसमाथि अमेरिकी उपसहायकमन्त्री उज्रा जीया काठमाडौं आएर तिब्बती शरणार्थीसँग भेटिन् । यसप्रति चीनले कूटनीतिक माध्यमले प्रश्न उठाइसकेको छ । सदनमा केपी शर्मा ओलीले यस घटनामा प्रश्न उठाएका थिए । माओवादी नेताहरु पनि यो घटनाको विरोधमा देखिएका छन् ।

चीनको कम्युनिस्ट पार्टीहरुमा प्रभाव बढी हुनु र नेपालमा अमेरिकी प्रभाव बढ्दै जानुले उसले नयाँ दबाब बढाउन थालेको छ । त्यो दबाब भनेको ओली, प्रचण्ड र माधव नेपाललाई मिलाउने नै हो । भित्र भित्र गठबन्धन तोडेर कम्युनिस्ट गठबन्धन निर्माण गर्न आन्तरिक र बाह्य शक्ति लागिपरेका छन् । यो खरब रिपोर्टर्सनेपालबाट साभार गरिएको हो।