माओवादीबाट निर्वाचित जनप्रतिनिधिको प्रचण्डसँग गुनासै गुनासो



काठमाडौँ। नेकपा माओवादी केन्द्रबाट गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा निर्वाचित १२२ प्रमुख र १२९ उपप्रमुखलाई पहिलो पटक बुधबार काठमाडौँ बोलाएको छ।

सत्ता सञ्चालनमा सहयोग पुग्ने गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता र विषय विज्ञले बुधबार बिहीबार प्रशिक्षण दिने भएका छन्।

पार्टीले राखेको अभिमुखीकरण कार्यक्रममा जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले अध्यक्ष प्रचण्डलाई बुधबार गुनासै गुनासो राखेका छन्। बुधबार प्रचण्डले अभिमुखीकरण कार्यक्रम उद्घाटन गरे लगतै स्थानीय तहका प्रमुख र उपप्रमुखको परिचयात्मक कार्यक्रम राखियो।

आफ्नो नाम, पालिका, पद, जिल्ला र प्रदेश मात्रै राखेर जनप्रतिनिधिलाई परिचय दिन आग्रह गरियो। तर, अधिकांश प्रमुख र उपप्रमुखले पार्टीको निर्देशन बमोजिम नाम, पालिका, पद, जिल्ला र प्रदेश खुलाएर परिचय दिए। तर, कतिपय जनप्रतिनिधिले आफूभित्र भएको उकुसमुकुस अध्यक्ष प्रचण्ड समक्ष राखेका छन्।