सचिव वंशद्वारा पर्वतमा विद्यायल भवन उद्घाटन



पर्वत। भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारमा अवस्थित श्री पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको उद्घाटन गरेका छन्।

मंगलबार सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु १ करोड ७५ लाख लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजनाको निर्माण गरिएको हो।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “ ७५ औं आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।

पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो। विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन्। भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषत कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको यस नयाँ पूर्वाधारले गुणस्तरिय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरुका लागि सुविधा प्रदान गर्नेछ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाहरुको निर्माण सम्पन्न गरिसकेको छ। यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु गण्डकी प्रदेशमा रहेका छन्।

दुई देशका जनताबीचको निकटताले भारत र नेपालबीच रहेको बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गरेको छ। यस विद्यालय परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्र जस्तैं शिक्षामा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।