दुर्घटाग्रस्त विमानमा धनुषाका एकै परिवारका सातजना रहेको पुष्टि



काठमाडौँ। मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ।

आइतबार पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएकाे थियाे। सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ। गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

दुर्घटना भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन्। सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ।