आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)



काठमाडौँ। चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएको छ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरेका हुन्। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले संघीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ।

आर्थिक सर्वेक्षणको पूर्ण पाठ पढ्नुहोस्:

नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्न लागेको हो।

गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो। यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ।

आर्थिक वर्ष ०७८/०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) रु ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ। जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ।अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ। यसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। यसै वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो। सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ।

फागुनसम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ। यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ।

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशत नाघेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पवेश गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ।

आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्षको ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो। वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात पनि एक खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो।