काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन ३ वर्षअघि नै तयार भएको भन्दै त्यतिबेला किन नबुझेको भनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिप्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले एकपक्षीय रुपमै भए पनि ईपीजीको प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए।
तर, शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा देउवाले ३ वर्षअघि नै तयार भएको प्रतिवेदन किन नबुझेको भनी ओलीलाई नै प्रतिप्रश्न गरे। ‘ईपीजीको प्रतिवेदन ३ वर्षअघि नै तयार भएको सबैलाई थाहा छ। उक्त प्रतिवेदन त्यतिबेला नै बुझ्नुपथ्र्यो किन बुझिएन?’ उनले भने, ‘त्यसकारण उक्त प्रतिवेदन बुझ्ने वातावरण तयार पार्न नेपाल सरकार निरन्तर क्रियाशील छ।’
प्रधानमन्त्री देउवाले कुटनीतिको विषयमा कदम चाल्दा पर्याप्त सावधानी अपनाउनुपर्ने पनि बताए। नेपाल र भारतबीच देखिएका समस्या समाधानका लागि गठन गरिएको प्रवुद्ध व्यक्ति समूहले ३ वर्षअघि नै प्रतिवेदन तयार पारेको थियो।
तर उक्त प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने प्रावधान राखिएको थियो, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेका कारण उक्त प्रतिवेदन सार्वजनिक भएको छैन।