लिम्पियाधुरा नेपाली भूमि हो, सरकार स्पष्ट छ: प्रधानमन्त्री देउवा



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्। प्रम देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन्।

प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ। सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको छ।

उनले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र नेपाल सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको पनि जिकिर गरे। उनले नेपाल सरकार एक चीन प्रति नेपाल प्रतिबद्ध रहेको र बीआरआई परियोजनालाई अघि बढाउन गम्भीर रहेको पनि जानकारी दिए।