मन्त्री झाँक्रीको प्रश्न: केपी ओलीलाई प्रश्न गर्नै नहुने हो?



काठमाडौँ। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन्।

मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाएकी हुन्।

बिहीबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएका कतिपय अभिव्यक्ति निराधार र झुठा रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो। सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्न नै गर्न नमिल्ने हो? भनि प्रश्न समेत गरिन्।

‘के डेमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला। फेरि संसदका आफ्ना मर्यादाहरु पनि छन्। मर्यादाभित्र त सबै बस्नुपर्छ। उहाँलाई प्रश्न गर्नै नहुने प्रश्नरहित व्यक्ति हो र? प्रश्नरहित व्यक्ति होइन। अरु ढंगले पनि जवाफ दिन सकिन्थ्यो। यसरी अवरोध गर्नु राम्रो होइन।’ मन्त्री झाँक्रीले संसदमा मर्यादा भित्र सबै रहनुपर्ने पनि स्पष्ट पारिन्।