‘कांग्रेस र माओवादीले समाजवादीलाई धोको दिए’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको बताएका छन्।

पछिल्ला राजनीतिक निर्णयहरूमा एकीकृत समाजवादीको महत्त्वपूर्ण भूमिका रहेपनि त्यसको वेवास्ता गरिएको उनको भनाइ छ। आफ्नै पार्टीका कारण कांग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याए पनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेको चौधरीको गुनासो छ।

चौधरीले भने, ‘ राजनीतिमा अनुशासन देखिएन। पाँच दलीय गठबन्धनबाटै एकता गर्ने, मोर्चा बनाउने भन्ने कुरा थियो। तर, माओवादीका र कांग्रेसका साथीहरू नै कतिपय ठाउँमा एमालेसँग मिलिदिनु भयो। आचरण र अनुशासनका कुरालाई भुलेर, आफ्नो साइज बढाउने होडमा अरु पार्टीसँग मिल्नु भयो।’

चौधरीले थपे, ‘सुतिसकेको काँग्रेसलाई जवरजस्ती प्रधानमन्त्री बनाइयो, यसअर्थमा नेकपा एकीकृत समाजवादीमाथि दलहरू बढी उदार देखिनुपर्ने हो, त्यो देखिएन। उल्टै हाम्रो पार्टीलाई कसरी एकदमै डाउन गर्ने मनोविज्ञानका साथ साथीहरू अघि बढ्नुभयो। सँगै चुनाव लड्दा आफू जित्ने र अर्कोलाई हराउने यो बेठीक कुरा हो। काँग्रेसका साथीहरूले अलि बढी हार्दिकता,उदारता देखाउन सक्नुभएन।’

यस्तै नेता चौधरीले बाम एकता र त्यसमा पनि एमालेसँगको एकता र तालमेलका बारेमा पनि आफ्नो धारणा राखेका छन् । उनले भने, ुराजनीतिमा सबै सम्भावना कायमै रहन्छन् । तर, म ग्यारेन्टीका साथ भन्छु, नेकपा एमाले र हाम्रो बीचमा संघको निर्वाचनअघि एकता हुँदैन । अर्को कुरा जसरी नेकपा एमालेले जनतामाथि, संविधान र कानुनमाथि घात गरेको छ, त्यसको सकारात्मक ढंगबाट कहिल्यै पनि प्रमाणित गर्न सकिँदैन।’

नेकपा एमालेलाई साइजमा ल्याउने भन्दै निर्वाचन अघिसम्म चुनावी सभामा भाषण गर्दै हिँड्ने चौधरीले सो पार्टी अझै साइजमा आइनसकेको बताए। उनले एमाले साइजमा आउने समय आउन बाँकी नै रहेको पनि दावी गरे। अझै पनि एमालेलाई अझै सजाय पुगेकै छैन, एमाले दण्डित त्यो बेला हुन्छ, जुन बेला संघको निर्वाचन पछिको परिणाम आउनेछ। किनकी एमालेले संसदीय व्यवस्थामाथि तरबार झुण्ड्याएको हो र संसदीय निर्वाचनमै एमालेले दण्ड भोग्नुपर्छ, उनले भने।