‘एक्सन’ मा मेयर हर्क साम्पाङ



धरान। ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई ‘साम्पाङ’ ले चरितार्थ गर्न थालेका छन्।

सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।

यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन्।

मेयर हर्कले बुधबार सर्दुखोलाको मुहानमा पुगेर स्थलगत अध्ययन गरेका हुन् । धरानमा पानीको हाहाकार भएकाले उनले चुनावी एजेन्डामा पनि यो विषयलाई विशेष रूपमा उठाएका थिए । उनले धरानवासीलाई आफूले जसरी पनि खानेपानी दिलाउने प्रतिबद्वता जनाउँदै आएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।