गठबन्धनको सर्वाधिक फाइदा कांग्रेसलाई



काठमाडौँ। स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको नजिता ७ सय ४५ पालिकामा आइसकेको छ।

७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ। यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ।

राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिकाको नेतृत्व हात पारेका छन्। १६ ठाउँमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख–अध्यक्ष हात परेको अवस्था छ। यस्तै काँग्रेस २९८, एमाले २३६, माओवादी १२८, जसपा ३१, एकीकृत समाजवादी २४ र लोसपा १२ पालिकाको उपप्रमुख–उपाध्यक्ष जितेको छ। अन्यले १८ उपप्रमुख–उपाध्यक्ष जितेको पाइन्छ। यस्तै काँग्रेसले ३, एमाले २, एकीकृत समाजवादी १ र अन्य १ को अग्रता छ।

समग्रमा काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र जसपा चौथो, एकीकृत समाजवादी पाँचौँ र लोसपा छैटौँ स्थानमा छ। राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा लगायतले दुई अङ्कको नजिता हात पार्न नसकेको अवस्था छ।

काँग्रेस ७ वटै प्रदेशमा पहिलो दल बन्न सफल भएको छ। तर, काँग्रेस गण्डकीमा पहिला बन्दा पनि क्षति बेहोर्दै छ। यता बागमतीमा भने सर्वाधिक पालिका थपेको छ। ०७४ मा एमाले मधेस र गण्डकी प्रदेशमा पहिलो दल हुन चुकेको थियो। एमाले मधेसमा पाँचौ र गण्डकीमा दोस्रो दल बनेको थियो। गण्डकी र मधेस दुवै प्रदेशमा काँग्रेस पहिलो दल बनेको थियो। उक्त प्रदेशको वर्चश्व कायम राख्दै पाँच वटा प्रदेशमा पनि काँग्रेसले एमालेलाई पछारेको छ।