नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको कप्तान



काठमाडौँ। अखिल नेपाल फुटबल संघ ९एन्फा ले नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ।

नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी दिएको हो। नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन्।

नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ। राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन्।

कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो। घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन्।