काठमाडौँ। रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टी छोटो समयमै स्थानीय तह निर्वाचनमा कैलालीमा सबभन्दा ठूलो दल बन्न सफल भएको छ ।
स्थानीय तह निर्वाचन–२०७९ मा नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ मध्ये ४ वटा पालिका जितेको छ भने कांग्रेसले ३, एमाले र माओवादी केन्द्रले २/२ वटा तथा नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ वटा पालिका जितेका छन् ।
रेशम चौधरी तीनै व्यक्ति हुन्, जसलाई ७ भदौ ०७२ को टीकापुर घटनामा जिल्ला अदालत, कैलालीले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । उच्च अदालत, दीपायलले पनि सदर गरेको त्यो फैसला पुनरावेदनका लागि दिएको निवेदन सर्वोच्चमा विचाराधीन छ भने चौधरीले डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । तर त्यही टीकापुर क्षेत्रले चौधरी र उनको पहलमा गठन भएको राजनीतिक दललाई उक्त घटनाभन्दा पछि सम्पन्न भएका हरेक चुनावमा विजयी गराउँदै आएको छ।
०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रहरीको फरार सूचीमा रहेका बेला चौधरीले वारेसमार्फत उम्मेदवारी दिँदा अत्याधिक बहुमतसहित विजयी भएका थिए । अहिले कारागारमै रहेका चौधरीको पहलमा गठन भएको नयाँ पार्टीले सोही क्षेत्रमा त्यस्तै लोभ लाग्दो मतसहित जित निकालेको छ ।
यो मतमार्फत स्थानीयले रेशम चौधरी र टीकापुर घटनाका अन्य बन्दीहरूमाथि लागेको अभियोगलाई अस्वीकार गरेको बताउँछन्, अध्येता तथा राजनीतिक विश्लेषक भाष्कर गौतम ।