काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य रेनु दाहाल बहुचर्चित भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन्।
मंगलबार बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन्। यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन्। रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ।
अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ। गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन्। मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ।
भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो। सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए। पौडेलले १४ हजार ७२७ मत पाएका छन्।
यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। उनले ५१ हजार ९०३ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन्।
भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए। मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए। तर, उनीहरु दुबै जना भारी मत अन्तरले पराजित भएका छन्। रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन्।