कोहलपुर-६ मा प्यानल सहित काँग्रेस विजयी



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेसले प्यानल सहित जित हात पारेको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-६ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्रीकृष्ण थारूले ८२३ मत ल्याएर प्यानल सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका परदेशी थारूले ५६१ मत प्राप्त गरे।

वडा नं. ६ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई ८६४, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई ४०४, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई ५०९ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले ७०९, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले १५१ र नेपाली काँग्रेसकी संगीता सुवेदीले ७९७ मत प्राप्त गरेकी छन्।

हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १०,२७५, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ८३३३ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ९५९७ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले १०,५५८, नेकपा एमालेकी अस्मिता चौधरीले १०,४५८ र एकिकृत समाजवादीकी नारायणी वलीले ४३४० मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ६ को मतगणना सकिएसँगै वडा नं. १० को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।