काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-११ मा खसेको सम्पूर्ण मत गणना गर्दा वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार कल्पना शर्माले १४२३ मत ल्याएर प्यानल सहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका मनप्रसाद आचार्यले १२७५ मत प्राप्त गरे।
वडा नं. ११ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यलाई १२२८, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेलाई १४१६, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषाललाई १३१६ मत प्राप्त भयो। त्यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेकी अस्मिता चौधरीले १३३३ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १२६७ मत प्राप्त गरेकी छन्।
हालसम्म वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ को मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ९४११, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले ७९२९ र नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले ९०८८ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ९७६१, नेकपा एमालेकी अस्मिता चौधरीले ९७४९ मत प्राप्त गरे।
स्थानिय तह निर्वाचन अन्तर्गत गत बैशाख ३० गते सम्पन्न मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. ११ को मतगणना सकिएसँगै वडा नं. ६ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।