कोहलपुर-२ मा एमालेको किल्ला तोड्दै काँग्रेसको प्यानल नै विजयी



काेहलपुर। बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. २ मा नेकपा एमालेको किल्ला तोड्दै नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।

निर्वाचन कार्यालय कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार काेहलपुर-२ मा खसेको सम्पूर्ण ५३ मतगणना गर्दा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हरि कठायतले १८०५ मत प्राप्त गरी प्यानल सहित विजयी भएका हुन्। यसअघिका चुनावमा एमालेले जित्दै आएको थियो। निर्वाचित महिला सदस्यमा तारादेवी सिंहले १६४८, दलित महिला सदस्यमा वसमती विश्वकर्माले १७१२, खुल्ला सदस्यमा पुरन थारूले १५७८ र विरेन्द्र विक्रम शाहीले १७११ मत प्राप्त गरेका छन्।

वडा नं. २ बाट नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले १५२७, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले १५३७, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले १५३ मत प्राप्त गरे। त्यस्तै, नगर उपप्रमुखमा गठबन्धन सहीतको नेकपा एकिकृत समाजवादीकी उम्मेद्वार नारायणी वलीले ६०७, नेकपा एमालेकी अस्मिता चौधरीले १५४८ र नेपाली काँग्रेसकी संगीता सुवेदीले १७५२ मत प्राप्त गरेकी छन्।

वडा नं. १, २ र १५ को १०१५० मतगणना जोड्दा नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेद्वार पूर्णप्रसाद आचार्यले ३१९१, गठबन्धन सहीतको नेकपा माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्याैपानेले २६६२, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालले २७१२ मत प्राप्त गरेका छन्। साथै उपप्रमुखमा काँग्रेसकी संगीता सुवेदीले ३४२३, गठबन्धन सहितको एकिकृत समाजवादीकी नारायणी वलीले ११९६ र नेकपा एमालेकी अस्मिता चौधरीले २८२२ मत प्राप्त गरे।

स्थानिय तह निर्वाचन अन्तर्गत गत शुक्रबार सम्पन्न भएकाे मतदानकाे मतगणना काेहलपुर नगरपालिकाकाे सभाहलमा भइरहेकाे छ। वडा नं. २ को मतगणना सकिएसँगै वडा नं. १४ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत भट्टले जानकारी दिए।