काठमाडौँ। कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ।
टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो।
सो पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ।
कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा महेन्द्र उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ।