काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिएका छन्।
शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए। उनले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता-कता अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका हुन्।
‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ। यो भ्रम भएकाले कताकता हामीमाथि अपमानपूर्ण व्यवहार गरेको सुन्नमा आएको छ’, अध्यक्ष नेपालले भने, ‘त्यही भएर हामीले भन्ने गरेका छौ यसरी आफ्नो शक्तिको अति मूल्याङ्कन गर्ने काम नगर्नुस्। हाम्रो शक्तिको अवमूल्यन पनि नगर्नुस्।’
अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि उनको भनाई गठबन्धनका नेताप्रति लक्षित रहेको थियो। अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे।