भरतपुरमा कांग्रेसका ५० कार्यकर्तालेद्वारा राजीनामा



चितवन। पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवनको भरतपुर महानगरपालिका वडा नं.१७ मा कांग्रेसका ५० कार्यकर्ताले राजीनामा दिएका छन्।

शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् ।

राजीनामा गर्नेहरूमा प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गैतम, मीरा पोखरेल, बलराम कँडेल लगायत रहेका छन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा जनताका आधारभूत आवश्यकतामा मौन रहेने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उल्लेख गरिएको छ । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकामा पनि विरोध जनाएका छन् ।

वडाको विकासमा जनसहभागिताको रकम दुरूपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा रमाएको, कृषकका समस्याहरूलाई बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।