सत्ता गठबन्धनले गर्यो तालमेलको मापदण्ड तय



काठमाडौँ। सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेलको मापदण्ड टुंगो लगाएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने निर्णय भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइने निर्णयसमेत गरेको छ। चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

२०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने निर्णय पनि भएको छ। २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने र अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने समझदारी भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई सोहीअनुसार मान्ने त्यसै अनुसार मान्ने समझदारी भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने समझदारी पनि भएको छ ।

गठबन्धनमा भएको समझदारी

पाँच दलीय गठबन्धनका बीच २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सिट बाँडफाँड गर्दा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले गर्ने।

नगरपालिका र गाउँपालिका क्रमशः प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको तालमेलगरी सिट बाँडफाँडको बैशाख ३ गते भित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी बैशाख ५ गते भित्र केन्द्रलाई पठाउने।

महानगरपालिका, उपमहानरपालिका, नगरपालिका र गाउँपालिका वडा अध्यक्ष र सदस्यहरुको सिट बाँडफाँडको निर्णय जिल्ला संयन्त्रले बैशाख ३ गते भित्र टुंगो लगाउने।

प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २-२ जना प्रतिनिधि रहने।

प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ आफ्नो आवश्यक्ता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ।

सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने। गठबन्धन भित्र सिट बाँडफाँडको आधारहरु निम्न अनुसार तय गरिएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा

प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीलाई त्यसैअनुसार मान्ने ।

२०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार ।

२०७४ को स्थानीय तह निर्वाचनमा प्राप्त गरेको नभएतापनि स्थानीय तहमा उपस्थिति रही यथासम्भव गठबन्धन भित्र अन्य दललाई पनि सहभागी गराउने ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजित भई बनेको मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।

गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारहरुको अतिरिक्त वर्तमान गठबन्धनमा आवद्ध दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

गठबन्धन भित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने ।