काठमाडौँ। स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ।
चुनावी तालमेलको विषयलाई लिएर सो पार्टीमा विवाद चुलिएको हो। यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो। तर, पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।
नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएपछि विवादको बिउ रोपिएको हो । गत सोमबार विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुन सहित दलबहादुर धामी बझाङका सचिव डीपी उपाध्यायले एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, कैलाली जिल्ला सचिव रणबहादुर कुँवरसँग चुनावी तालमेलका विषयमा छलफल गरेका गरेका थिए।
सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशमा नेकपा नेताहरुले एमालेसँग चुनावी तालमेलका विषयमा सघन रुपमा छलफल गर्न थालेपछि नेकपामा विवादको बिउ रोपिएको एक नेताले रातोपाटीलाई बताए । यस विषयमा नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले स्थानीय तह चुनावमा तालमेल गर्न पार्टीका नेताहरु सहभागी भएको पाइएमा कारवाही गरिने चेतावनी दिए। ‘चुनावी तालमेल आधिकारिक रुपमा पार्टीले गर्दैन। स्वतन्त्र ढंगले कुनै साथीहरु चुनावमा भाग लिन जान सक्नु हुन्छ। त्यसका लागि पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ। त्यस्तालाई समर्थन गर्न सकिने भयो’, ओलीले भने, ‘पार्टीले कुनै शक्तिसँग एलाइन्स गर्दैन। यदि कुनै नेताले गरेमा पार्टीले कारवाही गर्छ।’
पार्टीको निर्णय विपरित कुनै नेताले चुनावी तालमेलका विषयमा छलफल गर्नु अराजक क्रियाकलाप भएको ओलीले टिप्पणी गरे। ‘यदि कसैले कुनै पार्टीसँग साँठगाँठ गर्ने वा औपचारिक रुपमै भाग लिने पार्टीकै तर्फबाट छलफल गर्छन् भने त्यो अराजक क्रियाकलाप हो। अनुशासनहीन क्रियाकलाप हो । त्यस्तो क्रियाकलाप नहोस् भन्नका लागि केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु’ ओलीले भने, ‘हामीले लिन थालेको चुनाव परम्परागत बहिस्कार वा परम्परागत उपयोगपनि होइन। यो बीच बाटो अपनाएका छौँ। पार्टीको निर्णय विपरित उभिने जुनसुकै नेतालाई पनि कारवाही हुन्छ।’