स्थानीय चुनावमा सत्ता गठबन्धन तालमेल



काठमाडौैँ। सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमत भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेको हो। यसका लागि प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि तालमेलबारे थप निर्णय हुने उनको भनाइ छ। गठबन्धनले तीन तहको संयन्त्र बनाएर चैत २२ गतेसम्म केन्द्रमा रिपोर्ट पेस गर्न भनेको छ।

पाँच दलीय सत्ता गठबन्धनबीच लामो समयपछि बिहीबार छलफल भएको छ। स्थानीय तह निर्वाचनमा तालमेल र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच तीन घण्टा छलफल भएको हो।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मुख्यत पाँच विषयमा छलफल भएको नेताहरुले बताएका छन्।