गठबन्धनका दल मिलेर अघि बढ्छौं: प्रचण्ड



काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा पाँच दल मिलेर जाने बताएका छन्।

काठमाडौंमा बिहीबारआयोजित रिपोर्टस् क्लबको २४ औा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका हुन्।

उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडि बढाउन आफूहरु प्रष्ट रहेको बताए। ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन भनेर बनाएका छौं। अब निर्वाचन अगाडि छ। गठबन्धन चाहिँ हामी गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौं। नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिको पनि करिब, करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन। हामी मिलेर नै जान्छौं। आउने निर्वाचनलाई हामीले शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष रुपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई, राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्नेतिर नै हाम्रो छ।’ उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको पनि बताए।