काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ प्रवक्ता महतले भने,’ स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।
यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।
प्रवक्ता महतले चुनावी गठबन्धन गर्ने निर्णय सर्वसम्मत रुपमा भएको दाबी गरे । कांग्रेसका नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएका थिए । वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तय भएको छ । चुनाव नजिकिँदै गर्दा दलहरु गाउँ गाउँमा प्रचारप्रसार गरिरहेका छन् ।