काठमाडौँको वायु गुणस्तर अस्वस्थकर



काठमाडौँ। पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण उपत्यकाको आकाश सोमबार धुम्मिएको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

यसैको प्रभावले काठमाडौंमा कन्भेन्सन असरले बादल बनेको उनको भनाइ छ । यसरी बादल बन्दा जमिन तातिएर हावासँगैका कण ‘धुलो’ बीचमै रहँदा तुवाँलो जस्तै देखिएको उनले बताए। वायुमण्डलमै हावासँगै धुँवारधुलोका कणहरु अड्किँदा यो अवस्था देखिएको छ। ‘प्रदूषित कणहरु अड्किँदा बीचमा नै रहे, अनि प्रदूषण भयो,’ उनले भने ।

काठमाडौंमा सोमबार हावाको गुणस्तर अस्वस्थ रहेको छ । सोमबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स ‘एक्यूआई’ १६७ छ । सामान्यता: ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआईको मान १५० देखि २०० सम्मको हुँदा संवेदनशील मानिसहरुलाई असर गर्ने विज्ञहरु बताउँछन्। २०१ देखि ३०० एक्यूआईले सबै उमेरसमूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि माथिको मानलाई आपत्कालीन अवस्था जनाउँछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले आंशकिदेखि पूर्ण बद्ली भइरहेको छ । महाशाखाका मौसमविद् भट्टराईका अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भागमा पूर्ण बद्ली भइरहेको छ ।

गत साता प्रकासित वर्ल्ड एयर क्वालिटी रिपोर्टमा वायु प्रदूषणमा नेपाल विश्वको १०औं प्रदूषित मुलुकमा परेको थियो भने राजधानी काठमाडौं छैटौं प्रदूषित सहर रहेको उल्लेख छ। उक्त प्रतिवेदन अनुसार नेपालको औसत एयर क्वालिटी इन्डेक्स ‘एक्यूआई’ ४६ थियो। यो डब्लूएचओको मापदण्डभन्दा ९ गुणाले बढी हो । यस्तै, काठमाडौंको औसत एक्यूआई ५०.९ रहेको रिपोर्टमा उल्लेख छ । यो विश्व स्वास्थ्य संगठनको तोकेको मापदण्डभन्दा १० गुणा बढीले हो ।

डब्लूएचओको मापदण्ड अनुसार हावामा पीएम २.५को मात्रा प्रति घनमिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसहरुको मृत्यु हुने गर्छ । वायु प्रदूषणका कारण क्यान्सर, फोक्सो, मुटु सम्बन्धीको रोग लाग्ने गरेको छ । प्रतिवेदनमा सन् २०२१ मा मात्रै पीएम २.५ पार्टिकल्सका कारण ५ वर्ष कम उमेर भएका ४० हजार बालबालिकाहरुको मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको उल्लेख छ ।

हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कणहरुलाई पीएम २.५ हुन् । यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम, धुलोका स–साना कणहरु हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कणहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारी साधन, उद्योग, कृषि, निर्माण, घाँस दाउरा बाल्दा यस्ता कणहरु निस्कन्छन् ।

एक्यूआईको वार्षिक प्रतिवेदनले वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै उत्सर्जन घटाउनुपर्ने सुझाव दिएको छ । विद्युतीय सवारीको प्रयोगसँगै वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिनुपर्ने प्रतिवेदनमा भनिएको छ । ब्याट्रीबाट चल्ने सवारी साधनहरुमा सहुलियतको व्यवस्था, सार्वजनिक सवारी साधनहरुमा वैकल्पिक ऊर्जाको प्रयोगबाट गर्नुपर्ने उल्लेख छ । उत्सर्जन घटाउन वन व्यवस्थापन कार्ययोजना लागू गर्दै डढेलो व्यवस्थापनमा जोड दिएको छ ।