नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर



काठमाडौँ। नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन्।

त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङमा उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर गरेका थिए ।