काठमाडौं। सरकारले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढ्न नसक्नेतर्फ संकेत गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काले बीआरआईका विषयमा थप प्रस्ट हुनुपर्ने भन्दै तत्काल अघि नबढाउने भएका हुन्।
प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.खड्काले तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई यी परियोजनाको मोडालिटीलगायत विषयमा गहन छलफल गर्नुपर्ने भन्दै तत्काल कार्यान्वयन गर्न नसकिने जवाफ दिएका छन्।
प्रधानमन्त्री देउवा यी परियोजना ऋण हो कि अनुदान भन्ने स्पष्ट नभइन्जेल अघि बढाउन नसकिने अडानमा छन्। प्रधानमन्त्रीले बीआरआई कार्यान्वयनको मोडालिटीबारे प्रस्ट भएपछि मात्र अघि बढाउने जवाफ विदेशमन्त्री वाङलाई दिएको बालुवाटार स्रोतले बताएको छ। चिनियाँ विदेशमन्त्री वाङले वर्तमान सरकारबाट बीआरआई परियोजना र चीनको सुरक्षाप्रति आश्वस्त हुन खोजेका थिए।