नेपाल आर्थिक तथा उर्जा संकटोन्मुख



काठमाडौँ। रुस–युक्रेन युद्ध असर चौतर्फी परिरहँदा विश्व बजारमा सबै खाले ऊर्जा स्रोतको मूल्य बढेको छ। खनिज इन्धनमा पूर्णतः आयात आश्रित नेपालले पनि ऊर्जा र इन्धन आयातमा महँगो मूल्य चुकाइरहेको छ।

प्रत्येक वर्ष नेपालमा अर्बौँ रुपैयाँ बराबरको कोइला र पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, एलपी ग्याँस, हवाई इन्धन र मट्टितेल) आपूर्ति आयातबाटै हुन्छ। नेपालमा ठूला कोइला खानी र तेल कुवा नहुँदा कोइला र पेट्रोलियम पदार्थ आपूर्ति निम्ति विदेशी बजारमै निर्भर हुनुपरेको छ।

नेपाललाई आवश्यक शतप्रतिशत खनिज इन्धन भारत हुँदै आयात हुन्छ। भारतले खाडी मुलुक, अमेरिका, रुस र अन्य मुलुकबाट आयात गर्ने पेट्रोलियम पदार्थ नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल कर्पोरेशन (आइओसी)सँग किन्छ। यस्तै, भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियाबाट कोइला आयात गर्छ। जुन कोइला भारतले नेपाललाई पनि बेच्छ।

पेट्रोलियम पदार्थ र कोइला बाहेक बिजुली उत्पादनमा भने बर्खायामका बेला नेपाल आत्मनिर्भर भइसकेको छ। बर्खायामका ६ महिना नेपालमा हुने खपतको सम्पूर्ण आपूर्ति स्वदेशी उत्पादनले नै धान्न थालेको छ। यो वर्षदेखि त बर्खायाममा बिजुली खेर नै गएको छ।