काठमाडौँ। सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।
साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारमाथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ। बैठकको निर्णयमा भनिएको छ, ‘निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णयहरु गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ।’
बैठकले चुनाव चिन्हको रंग र मनोनयन दर्ताका लागि मनोनयन पत्र दर्ता गर्न दुई दिन दिने निर्णय परिर्वतन गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ। वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरुसँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिर्वतन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको एमालेले बताएको छ।