जुम्ला। नेपाली कांग्रेस जुम्लाका सचिव लक्ष्मण शाही चुनावी अभियान अन्तरगत गाउँबस्तिमा व्यस्त छन्।
केन्द्रीय पार्टीद्वारा सञ्चिालित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान प्रभावकारी रुपमा अघि बढाउनका लागि शाहीलगायत जिल्ला स्तरिय नेताहरु गाउँवस्तिमा व्यस्त छन्। साथै शाही अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।
निर्वाचन लक्षित अभियानले गाउँका जनताहरुमा उत्साह छाएको बताएका छन्। उनले भने, ‘अभियान धेरै उपलब्धि मूलक छ। अबको विकल्प कांग्रेस नै हो भन्ने बुझाउन सफल भएका छौं।’
उनले अगाडि भने, ‘कांग्रेस के हो ? यसले हिजो के गरेको थियो ? भोलि के गर्छ भन्ने कुराहरु जनतालाई बुझाउने काम भइरहेको छ। विपक्षीहरुले सरकारले चुनाव गराउँदैन कि भनेर आलोचना गरिरहेका छन्। तर, निर्वाचन तोकिएकै समयमा हुन्छ। लोकतन्त्रलाई स्थापित गर्न र संविधानको रक्षा गर्न पनि निर्वाचन अपरिहार्य छ।’
उनले भने, ‘अब देश चुनावमय भइसक्यो। निर्वाचनमा जान कुनै पनि पार्टी डराउनु् हुँदैन। जित र हारको कुरालाई लिएर कसैले पनि निर्वाचन भाँड्न सक्दैन र हुँदैन। सबै नेता तथा पार्टीका कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनको तयारीमा लाग्न आग्रह अुनरोध गर्दछु।’