दाङ। दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ। ६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए।
पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए। प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासू(बुहारीबीच मनमुटाव हुँदै आएको थियो। सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका(६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो। मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन्।