काठमाडौँ। मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए। २५ वर्षीय उनी कम्मल र गलैँचा व्यापारी हुन्। गलैँचा बेच्न उनी चौरजहारी बजारमा पुगे। त्यहाँबाट जाजरकोट जाँदा उनको भेट एक २८ वर्षीय महिलासँग भयो। परिचयसँगै उनीहरुले नम्बर साटासाट गरे।
उनीहरु फोनमा कुराकानी गर्न थाले। भेटघाट गर्न तयार भए। जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालत जाजरकोटमा दायर गरेको अभियोग पत्रअनुसार गोकान र ती महिलाबीच २२ फागुनमा महिलाको भैंसी गोठमा भेटघाट भयो।
भेटपछि गोकनले ति महिलालाई भेरी नगरपालिका–५ स्थित मटेलामा रहेको गोठमा बलात्कार गरेको विवरण अभियोग पत्रमा उल्लेख छ। उनीविरुद्ध महिलाले घटनाको भोलिपल्ट प्रहरीमा जाहेरी दिइन्। प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थाल्यो। घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जाजरकोटका डिएसपी मधु थापाले बताए।
सोही प्रतिवेदनको आधारमा कार्यालयले बुधबार जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ। गोकानले महिलासँग सहमतिमै शारिरिक सम्पर्क भएको बयान दिएको विवरण उल्लेख छ। उनका अनुसार २० फागुनमा पनि ती महिलासँग उनको शारिरिक सम्पर्क सहमतिमै भएको थियो।
अभियोग पत्रमा भनिएको छ, ‘महिलासँग फोनमा कुरा भई निजले आउनु भेटौँला भनेपछि भेट्न राति गई हाल वारदातस्थल भैंसी गोठमा भेट गरी सहमतिअनुसार रातभरिसँगै सुति करणी (शारीरिक सम्पर्क) गरी बिहान ३ बजेतिर दुबै जना उठेर पीडित दूध बिक्री गर्न खलङ्गा बजार जाने कुरा भई हामी दुबै जना आधा बाटोसम्म सँगै आई निज बजारतिर गइन् म आफ्नो काममा गएँ।’ जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ। अब अदालतमा थुनछेक बहस हुनेछ। -रोतोपाटी