युक्रेन आक्रमणको विरोधमा पुटिनका विशेष प्रतिनिधिद्वारा राजीनामा



काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन्।

एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन्। रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन्। राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रुपमा रुसी जलवायू दूतको रुपमा काम गरेका थिए।

ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रुपमा चिनिन्छन्। उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरुसँग घनिष्ट सम्बन्ध बनाएका थिए। सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रुपमा उनी चिनिन्छन्। पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरुका उच्च ओहोदामा रहेर काम गरेका थिए ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आलोचकहरु बढेका छन् । गत हप्तामात्रै युक्रेनमा गरिएको आक्रमणको विरोध जनाउँदै दिमित्री मेदभेदेवका वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका अर्केदी दोर्कोभिचले सरकार समर्थित स्कोल्कोभो टेक्नोलोजी फण्डको प्रमुख पदबाट राजीनामा दिएका थिए । अर्केदी युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्ने केही पूर्व वरिष्ठ अधिकारीहरुमध्ये एक हुन् ।