एमाले बाहिर कमजोर देखिनु हुन्न: अध्यक्ष ओली



काठमाडौँ। एमालेका अध्यक्ष केपी ओलीले भित्रि जति कमजोर भएपनि बाहिर पार्टी कमजोर छ भन्ने सन्देश पठाउन नहुनेमा जोड दिएका छन्।

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सातै प्रदेशका अध्यक्षहरुको रिर्पोटिङ गरेका थिए।

बुधबारको केन्द्रीय कमिटी बैठक समापण गर्ने क्रममा पनि ओलीले वाम एकता नभएर पार्टी प्रवेशलाई जोड दिनुपर्ने निष्कर्ष सुनाए। साथै उनले पार्टी कमजोर रहेको तर्फ संकेत गर्दै माओवादी र समाजवादका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु पर्नेमा जोड दिएका थिए। उनले वाम एकता किन चाहियो? एमालेलाई बलियो बनाए हुँदैन भनेर बैठकमा प्रश्न गरेका थिए ।

उनले भनेका थिए, ‘वामपन्थी गठबन्धन नभनौं, एकता नभनौं। के को एकता ? प्रवेश भनौं’, ओलीको सन्देश थियो। पार्टी प्रवेश गराएरै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई रित्याउनुपर्ने ओलीको निष्कर्ष थियो। ‘यत्रो तीन करोड जनता छन्। किन गर्न पर्यो वाम एकता ? कुन वाम एकता?’ ओलीले भनेका थिए, ‘एमाले बलियो बनाए हुन्न?’

प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार, राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बैठकमा बोल्न नपाउने भएका छन्। प्रतिवेदनप्रति राय दिनपरे लिखित रूपमा बुझाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको उपमहासचिव गुरूङ बताउँछन्।

अर्थात् ओलीले लेखेको राजनीतिक प्रतिवेदनकै भाषाजस्तो एमाले बैठक पनि संक्षेपमा सकिँदैछ। नत्र राजनीतिक तथा संगठनात्मक प्रतिवेदन सहित एघार वटा कार्यसूची तय भएको र सातै प्रदेशको संगठनात्मक अवस्थाबारे छलफल गरिने बैठक यति चाँडै सकिने संभावना रहन्न।

अझ स्थानीय चुनाव नजिकिएको र सत्तारूढ गठबन्धन कायमै रहेको विशेष परिस्थितिमा एमाले बैठकमा केन्द्रीय सदस्यहरुबीच निर्मम समीक्षा हुनसक्ने स्वभाविक अनुमान हुन्छ। १५ पृष्ठको प्रतिवेदनमा पनि विशेष परिस्थितिमा चुनाव हुन गइरहेको ओलीले स्वीकारेका छन्। तर, पार्टीको कार्ययोजना र प्रस्तुत प्रतिवेदन पारित गरेर बिहीबार बैठक सकिँदैछ।