‘हरेक संकटमा देशलाई निकास दिने माओवादी हो’



काठमाडौँ। मोआवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन्।

माओवादी केन्द्रको बुधबार सम्पन्न प्रवास समन्वय समितिको विशेष राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई जिताउन प्रवासका रहेका नेता कार्यकर्ताको पनि महत्वपूर्ण भूमिका रहेको बताए। उनले सम्भव भए नेपाल फर्किएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे। त्यस्तो सम्भावना नभए अहिले भएकै स्थानबाट प्रविधिको प्रयोग गरेर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे। ‘सम्भव भए १० दिन १५ दिन बिदा मिलाएर आफ्नो भूगोलमा आएर चुनावी कार्यक्रममा खटिनुस्। सम्भव छैन भने प्रविधिको प्रयोगमार्फत परिवार, आफन्त र नजिककासँग पार्टीलाई भोट मागेर माहोल बनाउनुस्’, प्रचण्डले भने, ‘अहिलेको प्रविधिको प्रयोग गरेर तपाईँहरुले विदेशबाटै पनि भोट माग्न सक्नुहुन्छ। लाखौँ जनमत पार्टीको पक्षमा पार्न सक्नुहुन्छ।’

युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए। ‘हरेक समस्यामा संकट मोचनको भूका माओवादीले खेल्नुपरेको छ। शान्तिप्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो। संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर पनि पहलकदमी लिएको हो’, प्रचण्डले भने, ‘निर्वाचनतिर देशलाई लैजाने कुरा होस् वा राजनीतिक स्थायित्वबारे होस् हाम्रै पार्टी र नेतृत्वले लिएका ऐतिहासिक पहलकदमी हुन्।’

एमसीसी पास गर्नुअघि पनि प्रतिगमनका अनेक तानाबाना बुन्ने काम भएको भन्दै प्रचण्डले त्यसबाट देशलाई पार लगाउन पनि आफ्नै पार्टीले पहलकदमी लिएको प्रचण्डले बताए। एमसीसीबारेको व्याख्यात्मक घोषणाले एउटा निकास निस्किएको भन्दै यो सही कदम भएको पनि बताए। प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको पनि बताएका छन्। पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए। प्रचण्डले प्रतिक्रियावादीहरुो चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको दावी गरे।

‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई कमजोर बनाउन सकिन्छ वा फुटाउन सकिन्छ भनेर लागेका छन्। तर, माओवादीप्रति आकर्षण बढेको छ’, प्रचण्डले भने, ‘मधेसमा हजारौँको संख्यामा नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको छ। यो देशभर नै देखिएको छ।’उनले संसारभरीका प्रतिक्रियावादीहरुले माओवादीलाई कमजोर पार्न षड्यन्त्रहरु जारी राखेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए।