राजविराज। नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य रन्जु ठाकुर बुधबार जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन्। बुधबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई पार्टी प्रवेश गराएका हुन्।
विद्यार्थीकालदेखि नै कमयुनिस्ट आन्दोलनमा लागेकी ठाकुर ०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिएकी थिइन्। त्यसअघि उनी सप्तरीमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारसमेत भएकी थिइन्। संविधानसभा सदस्य रहेकी बेला ठाकुर महिला,बालबालिका तथा जेष्ठ नागरिक संसदीय समिति सभापतिसमेत भएकी थिइन्।
पछिल्लो एमालेको महाधिवेशनमा उनलाई केन्द्रीय तहमा कुनै जिम्मेवारी नपाएपछि रुष्ट रहँदै आएकी थिइन्। सोही कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघ र सप्तरी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष अरुणकुमार प्रधान पनि जसपामा प्रवेश गरे।
प्रधान आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्षसमेत हुन्। त्यस्तै राजविराजका माडवाडी समुदायको अगुवाई गर्ने शंकर शारदा, अनिल पेडिवाललगायत पनि जसपामा प्रवेश गरे।