काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा रहेको बेला केपी ओलीले गरेका अपराधहरु जनताको बीचमा लैजाने बताएका छन्।
काठमाडौँमा बुधबार भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजानुपर्ने बताएका हुन्। ‘केपी ओलीका अपराधहरु के के हुन् ? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ। भ्रष्टाचार, राष्ट्रघात, जनविरोधी काम, अनुचित कामसँग जोडिएका, कम्युनिस्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका,’ उनले भने।
उनले बैठकको क्रममा केपी ओलीलाई झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने नेताको रुपमा चित्रित गरेका थिए। उनले भनेका थिए ुएउटा कुरा त हामीले बुझेका छौं, केपी ओली झुटो बोल्न माहिर छन्। उनले जे पनि भनिदिन सक्छन्।’ अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए।
पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पनि उनको आग्रह थियो। उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए। अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए।
अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए। अध्यक्ष नेपालले भने, ‘४० पर्सेन्ट, ४० पर्सेन्ट भनेर कुरेर बसिरहेका थिए। हामीले पनि घटाएर २० प्रतिशतमा झार्यौं। उनले मात्रै जान्दछन् दाउपेच। १४ वर्ष जेल बसेका थिए, १४ वर्षपछि मात्रै केन्द्रीय कमिटीमा आएका हुन्, त्यस्ताले धेरै फूर्ती नदेखाए हुन्छ।’
अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए। उनले ओलीको घमण्डलाई चकनाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको दाबी गरे।