कम्युनिष्ट पार्टी श्रमजीवी र सर्वहारा जनता आधारित पार्टी हो। त्यसैले त कुनै बेला कम्युनिष्ट पार्टीका किसान संगठन, मजदुर संगठन, जनसांस्कृतिक संगठनप्रति आकर्षण लोभलाग्दो हुन्थ्यो।
आजको दिन यी संगठनको साङ्गठानिक अवस्थाबारे घोत्लिएर सोचौ त? हामीले सिङ्गो पूँजिवादी व्यवस्थालाई परास्त गरि वैज्ञानिक समाजवाद ल्याउने भनिरहँदा हामीसँग किसान, मजदुर, जनवादी कलाकारलगायतका कम्युनिष्ट पार्टीका मुख्य पिलर कमजोर बनेका छन्। जब पिलर नै कमजोर बन्छ, त्यसको जगमा टेकेर बनाईने घर कति मजबुत बन्छ होला ? कुरा र काममा जब मेल खादैन त्यो बुर्जुवाकरण भै हाल्छ।
आज नेपालका कम्युनिष्ट पार्टी त्यसै गरि बुर्जुवाकरण भै रहेका छन्। दलाल पूँजिवादी समाजमा झुत्रा कपडा लगाउने किसान, गरिवीको समस्याले पढ्न नसकेको मजदुर, डिस्को डान्स र बुर्जुवा सङ्गितको स्वादमा रमाउने समाजका सामु जनवादी कलाकार अति कमजोर बन्दै गई रहेका छन्। यहाँ समाज रुपान्तरणका कुरा गर्ने क्रान्तिकारीहरु खिसीटियुरीका पात्र कहलिन थाल्दै छन्। सत्ता केवल धन कमाउने माध्यम बन्द थालेको छ।
कम्युनिष्ट पार्टीहरु पनि केवल चुनाव देखि चुनावसम्मको मात्र सपना देख्न थालेका छन्। कम्युनिष्ट पार्टीका निति, बिचार, सिद्धान्त र रणनीतिक कार्यक्रम केवल वेद, पुराणका कथा बन्न थालेका छन्। चारैतिरको बिकृत राजनीतिलाई फेरि ब्यवहारसहितको क्रान्तिकारी कर्म जरुरी छ। चुनाव जित्नका लागि धनाढ्य खोज्ने होइन, मजदुर खोजौं। ब्यापारी होइन, राजनीतिक ब्यक्ति नै रोजौ। राजनीति गर्नेलाई नै नेता बनाऔं। राजनीति त्याग, निष्ठा, समर्पणको महान कर्म हो। सोही अनुकुल अब निश्चित बर्गलाई प्रतिनिधित्व गर्ने भातृसंगठनलाई बोलियो पार्न लागौं।
अहिले हुर्कदो युवा पुस्तालाई राजनीति रुपमा प्रशिक्षित गर्न सकेनौ भने यसको मूल्य कालान्तरमा सबैभन्दा बढी कम्युनिस्ट पार्टीहरुले चुकाउने पक्का छ। उपभोक्तावादी समाज र पुजीवादी चरीत्रलाई बेलैमा नियन्त्रण गर्न सकेनौं भने हाम्रो समाजवादको महान लक्ष्य केवल सपनामा मात्र सजिने छ। समाजका हुर्कदो पुजीवादी संस्कार हटाउने सेना भनेकै मजदुर, किसान र जनवादी कलाकार नै हुन्। किनभने यो बर्गलाई जनताले तत्काल बिश्वास गर्न सक्छ। त्यसैले यी संगठन बलियो बनाउने दिशामा अगाडि बढौं। उदाहरणका लागि बोर्डिङ स्कुलमा लगानी लगाएर समाजवादको भाषण गर्नु र त्यसैलाई नेता बनाउनु हाँस्यास्पद कुरा हो। यसरी अगाडी जान सकिँदैन।