काठमाडौँ। नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का मंगलबार पल्सर स्पोर्ट्स अवार्डमा दशकका पुरुष खेलाडी घोषित भएका छन्। नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्याएको अतुलनीय योगदानका लागि उनलाई यो अवार्ड प्रदान गरिएको हो।
नेपालले उनकै नेतृत्वमा सन् २०१० विश्व क्रिकेट लिग डिभिजन फाइब जितेको थियो र त्यहींबाट नेपाली क्रिकेटका वास्तविक अन्तर्राष्ट्रिय यात्रा सुरु भएको मानिन्छ। उनकै नेतृत्वमा सन् २०१३ नेपाल पहिलो पटक एसीसी ट्वान्टी–२० को फाइनलमा पुगेका थियो भने सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन थ्री जितेको थियो।
यस्तै सन् २०१३ विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुर्याएका थिए। पासरस नेपालका लागि वान डे र ट्वान्टी ट्वान्टी क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी हुन्।
नेपाली फुटबलले पाएका महिलेसम्मकै सबैभन्दा ठूला महिला स्टार खेलाडी सावित्रा भण्डारी मंगलबार पल्सर स्पोर्टस अवार्ड २०७७ मा दशककी महिला खेलाडी घोषित भएकी छिन्।
नेपाली राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यु गरेका सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गर्ने खेलाडी पनि हुन्। उनले घरेलु महिला फुटबलमा पनि लगातार गोल गरिरहेकी छिन्। पछिल्लो महिला लिगमा घाइते भएका सावित्रा अहिले त्यसबाट मुक्त भएर खेलमा फर्कने प्रयासमा छिन्।