काठमाडौँ। मकवानपुरको हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४३ वर्षीय मित्र लाल सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए।
घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई हातले धकेल्दा लडेर घाइते भएका सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको उनले बताए। लडेर अचेत अवस्थामा उपचारको लागि हेटौडा अस्पताल पुर्याइएका सुनारलाई साँझ ७ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।
विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।