भुसाल र पन्तलाई ओलीको जवाफ: एकताको कुनै सम्भावना छैन



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पस्ट पारेका छन्।

सोमबार बसेको पोलिटब्युरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले आगामी चुनावमा गठबन्धन र वाम एकताका लागि एमालेले ढोका खुला राख्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन्।

बैठकको अन्तिममा अध्यक्ष ओलीले नेता भूसाल र पन्तले राखेको प्रस्तावको जवाफ दिँदै ओलीले प्रचण्ड र माधव नेपालले एकताको ढोका खुला राख्नुपर्ने धरातल नै नराखेकाले उनीहरुलाई एमालेले पुन एकताका लागि ढोका खुलै राख्नुपर्ने आवश्यकता नभएको जवाफ दिएका हुन्। ‘वामपन्थी एकताका लागि एमालेले ढोका खुला राख्ने कुरामा प्रचण्ड र माधव नेपालले त्यो धरातल नै राख्नुभएको छैन। चित्रबहादुरको पार्टीले त एमालेसँग एकता नगर्ने भनेर निर्णय नै गरेको छ’, ओलीले बैठकमा दिएको जवाफ उदृत गर्दै एक पोलिटब्युरो सदस्यले बताए। साथै ओलीले प्रचण्ड र माधव नेपाल झ्याल ढोका फोरेर गएकोमा आक्रोश समेत व्यक्त गरे।

‘उनीहरु झ्याल ढोका फोरेर गएका हुन्। त्यसरी गएकाहरुलाई हामीले ढोका खुला राख्नुको के अर्थ हुन्छ र ? १९ बुँदे आरोपपत्र लगाएर, अध्यक्षबाट कारवाही गरेर, काँग्रेसलाई सत्ता बुझाएर न्यायालय सेटिङ गरेर परमादेशबाट सरकार बनाउनेलाई फेरि ढोका खुल्ला? यो सम्भव छैन’, अध्यक्ष ओलीको भनाइ थियो। ओलीले १४ सांसदको कारवाही नगरेर प्रचण्ड, माधव नेपाल र सभामुख अग्नि सापकोटा मिलेर संविधान समेत मिचेको आरोप लगाएका थिए। ‘नामका वामपन्थी कामका विरोधीहरुलाई समेट्न सकिँदैन। यो एजेण्डा अहिलेको एजेण्डा पनि होइन’, ओलीले बैठकमा भनेका थिए, ‘उहाँहरु (माधव प्रचण्ड) लाई होइन तलका नेता कार्यकर्तालाई स–सम्मान ल्याउन सकिन्छ।’

बैठकमा नेता महेश बस्नेत र हिक्मत कार्कीले पनि भुसाल र पन्तको प्रस्तावप्रति असहमति जनाएका थिए। नेता बस्नेतले वामपन्थी, राष्ट्रवादी र प्रगतिशिल शक्तिहरूलाई नेकपा एमालेमा समावेश गराएर क्रान्ति र निर्वाचनमा सहभागी हुन आव्हान गर्नुपर्ने बताएका थिए। साथै उनले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान एमालेले पहल कदमी लिनुपर्ने भन्दै पार्टी अध्यक्षले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रस्तावमा दुई दलीय व्यवस्थाको प्रस्ताव समेटिनुपर्ने धारणा राखेका थिए।

बैठकमा नेता भुसालले एमाले वाम एकताको मूल प्रवाह भएको भन्दै गठबन्धन र वाम एकता गर्नुपर्नेमा जोड दिएका थिए। ‘नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भुसालको प्रस्ताव थियो। बहुसंख्यक कम्युनिष्ट सदस्य र कार्यकर्ताको चाहना पनि वाम एकता नै रहेको भूसालले बताएका थिए।