काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केही दिनयता निर्वाचन आयोगका काम कारबाहीमाथि तीन वटा प्रश्न उठाएको छ।
एमालेले उठाएका प्रश्नले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठ्ने अवस्था छ। सवाल एक–निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका क्रममा हरियो रंगको मतपत्र प्रयोग गर्ने निर्णय ग¥यो। कांग्रेसले आफ्नो चुनाव चिह्न रुखलाई निर्वाचन प्रचारप्रसारका क्रममा प्रायः हरियो रङ प्रयोग गरी प्रचारप्रसार गर्छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई नेपाली कांग्रेसको चिह्न रुखको रङसँग जोडे र उसको अनुकुल हुनेगरी निर्वाचन आयोगले मतपत्रमा हरियो रङको प्रयोग गरेको भनेर आपत्ति जनाए।
सवाल दुई– निर्वाचन आयोगले दुई दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्यो। तालिका अनुसार, ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति तोकियो।
यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेदवारी मनोनयन गर्न एक दिन मात्रै तोकिएको थियो। त्यसअघिको स्थानीय तह निर्वाचनमा समेत मनोनयनका लागि एक दिनमात्रै तोकेकोमा यसपटक आयोगले दुई दिन तोक्यो।