काठमाडौँ। विभिन्न ५८ वटा राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना र जिल्ला समितिको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त बाहेकका दललाई जिल्लागत संगठन सरचना र जिल्ला समितिको विवरण बुझाउन ६ चैतसम्मको समय दिएको थियो। निर्धारित मितिसम्म ५८ दलले विवरण बुझाएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
तर, कुन दलको कुन कुन जिल्लामा संगठन संरचना र जिल्ला समिति छ भन्नेबारे भने आयोगले खुलाएको छैन। निर्वाचन आयोगले स्थानीय तहको चुनावमा राष्ट्रिय मान्यताप्राप्त बाहेक अरु दललाई सम्बन्धित दलकै चुनाव चिह्न दिन जिल्लागत विवरण माग गरेको थियो।
प्रवक्ता पौडेलले जिल्ला निर्वाचन कार्यालयबाट दलहरुको विवरण आउने क्रम जारी रहेको बताए। उनका अनुसार ५८ वटा दलको विवरण र ती दलले जिल्लामा बुझाएको विवरण भिडाउँदा मेल खाएमा ती दललाई सम्बन्धित जिल्लाको स्थानीय तहको चुनाव चिह्न प्रदान गरिनेछ। जिल्ला समिति नभएका दलले भने स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गर्नुपर्नेछ।